१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो

१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो

पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभा माविले उचालेको छ ।

पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि उचालेको हो । गत सस्करणको समेत उपाधि विजेता रहेको प्रतिभाले छात्र–छात्र बास्केटबलमा प्रथम हुँदै १४ अक, टेवुल टेनिसमा ७ पदकका साथ ७ अंक तथा व्याडमिन्टनमा एक पदकका साथ एक अंक बटुल्दै कूल २२ अंक जोड्दै रनिङ शिल्ड आफै संग राख्न सफल भएको हो । सम्पन्न स्पोर्टस मिटमा करुणानिधी मावि कुल १६ अंकका साथ दोश्रो हुँदा न्यू ग्यालेक्सी १० अंकका साथ समग्रमा तेश्रो स्थान प्राप्त गरेको छ ।

बास्केटबल फाइनल
स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र बास्केटबल फाइनलमा न्यू ग्यालेक्सीलाई प्रतिभाले ७२–४८ को स्कोरले पराजित गरि उपाधि जित्न सफल भयो भने कास्की मोर्डनाइजले हिल पोइन्टलाई ३७–२० ले पराजित गरी तेश्रो स्थान प्राप्त गरेको छ । त्यस्तै छात्रातर्फ प्रतिभाले न्यू ग्यालेक्सीलाई २३–२० को झिनो स्कोरले पराजित गरी पहिलो हुँदा ग्लोबलले त्रिवेणी पव्लिकलाई १३–१० को स्कोरले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हिसान कास्कीले जनाएको छ ।

विश्वविद्यालय छात्र बास्केटबलमा लिंकनले पिसिएमलाई ४७–२८ ले पराजित गरी पहिलो हुँदा लेकसिटी कलेज तेश्रो भएको छ । त्यस्तै छात्रातर्फ फाइनलमा लिंकनले पिसिएमलाई ३१–१५ ले पराजित गरेको छ भने इन्फरमेटिक्स कलेज तेश्रो भएको छ ।

छात्र प्लस टु बास्केटबलमा प्रतिभाका निश्चल फकामी उत्कृष्ट खेलाडी घोषित भए भने छात्रातर्फ प्रतिभाकै यूविका बज्रचार्य उत्कृष्ट खेलाडी भएकी छन् । त्यस्तै सर्वाधिक स्कोररमा छात्रातर्फ न्यू ग्यालेक्सीकी समिक्षा गर्वुजा पुन मगर र छात्रतर्फ सोही विद्यालयका वुद्ध बहादुर पुन घोषित भए । त्यस्तै विश्वविद्यालय छात्रतर्फ पोखरा लिंकनका बिपुल गुरुङ र छात्रतर्फ सोही विश्वविद्यालयकी अमिशा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । सर्वाधिक स्कोररमा छात्रतर्फ पोखरा लिंकनका सुलभ प्रताप मल्ल र छात्रातर्फ सोही विश्वविद्यालयकी निर्विती शर्मा घोषित भएकी छन् ।

भलिबल फाइनल
हिसान स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्लस टु छात्र भलिबल माउन्ट अन्नपूर्ण माविले जितेको छ । सम्पन्न फाइनल खेलमा करुणानिधिलाई २५–१९, २१–२५, २७–२५ र २५–१८ ले जित्द्रै उपाधि जितेको हो । छात्रतर्फ सिर्जना मावि तोश्रो भएको छ । सिर्जनाले टप्स माविलाई २५–२०, २५–२३ को सोझो सेटमा पराजित गरि तेश्रो स्थान प्राप्त गरेको छ ।

यसै गरि प्लस टु छात्रातर्फ पश्चिमाञ्चल माविले उपाधि जितेको छ । पहिलो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले गुरुकुललाई २५–२१, २५–१४ र २५–१२ ले पराजित गरेको हो भने केफा माविले तेश्रो स्थान प्राप्त गरेको छ । केफले कास्की मोर्डनाइजलाई २५–१३ र १२ ले पराजित गरेको छ ।

प्लस टु छात्रतर्फ माउन्ट अन्नपूर्णका सुदिप थापा र पश्चिमाञ्चलकी सजिना वुढाथोकी उत्कृष्ट खेलाडी घोषित हुँदा वेष्ट स्पाइकर छात्रतर्फ करुणनिधीका राजन दर्जी र गुरुकुलकी सुस्मिता सिर्पाली बन्न सफल भए ।

टेवुल टेनिस फाइनल
टेबुल टेनिस प्लस टु छात्र टेबुल टेनिस सिंगल्समा स्टेप वाई स्टेपका सुलभ केसी पहिलो, सिर्जनाका मिलन खडका दोश्रो, ग्लोवलका प्रज्वल थापा र प्रतिभाका मनिष भुजेल तेश्रो भएका छन् । छात्रातर्फ करुणानिधीका समृद्धि अधिकारी पहिलो, प्रतिभाका योगिता गुरुङ दोश्रो, ग्लोवलका रोजिना गुरुङ र साइनिङ स्टारका सजिना राई तेश्रो भएका छन् ।

त्यस्तै डबल्सतर्फ ग्लोवलका प्रज्वल थापा र जेनिथ गुरुङको जोडी पहिलो, सिर्जनामा समिर लिम्वु रमिलन गुरुङ दोश्रो तथा सगरमाथामा नितेश पञ्डित र जेनिथ ठकुरीको जोडी र प्रतिभाका मनिष भुजेल र अमन थापाको जोडीले तेश्रो स्थान प्राप्त गरे । त्यसै गरि प्लस टु छात्रातर्फ करुणनिधीका समृद्धि अधिकारी र सभ्यता अधिकारीको जोडी पहिलो हुँदा प्रतिभका योगिता गुरुङ र करुणा तिमिल्सिनाको जोडी दोश्रो स्थान प्राप्त गरे भने सगरमाथाका सरुण गुरुङ र दिलिशा सापकोटाको जोडी तथा पोखरा आदर्शका प्रियकां अधिकारी र रोधा तामाङको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

विश्वद्यिालय अन्तर्गत भएको टेवुल टेनिसमा पोखरा लिंकनका अनिष ढकाल प्रथम, इन्फरमेटिक्सका विशाल श्रेष्ठ दोश्रो, पिसिएमका निभर्य लिगल र पेकका सूवर्ण रुम्वाले तेश्रो स्थान प्राप्त गरे । त्यस्तै छात्रातर्फ पेकका खेलाडी द्वय सिम्रन ढकाल र अनुस्का थेवे पहिलो र दोश्रो हुँदा पोखरा लिंकनका खेलाडीद्वय अमिषा गुरुङ र अशिम खत्री तेश्रो हुन सफल भए ।

त्यस्ते छात्र डबल्समा पोखरा लिंकनका अमिश ढकाल र आभश थापाको जोडी पहिलो, इन्फरमेटिक्सका विशाल थापा र क्षितिज पन्त दोश्रो, पेकका सूवर्ण रुम्वा र रोशन घर्ती मगरको जोडी तथा लेकसिटी कलेजका सम्राट शाही र राजन कार्कीको जोडीले तेश्रो स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ पेकका सिम्रन ढकाल र अनुष्का थेवे तथा पोखरा लिंकनका अशिम खत्री र अमिशा गुरुङ तेश्रो स्थान प्राप्त गरेका छन् ।

ब्याडमिन्टन
ब्याडमिन्टनतर्फ समग्रमा सगरमाथा मावि प्रथम भएको छ भने मदरल्याण्ड मावि द्वितिय र बालप्रभात मावि तृतिय स्थान प्राप्त गर्न सफल भएको व्याडमिन्टन प्रतियोगिताका संयोजक पुरन कुंवरले बताए ।

गत मंसिर १४ गतेबाट पोखरा रंगशालामा सुरु भएको १६ औं हिसान स्पोर्टस मिटमा छात्र बास्केटबलमा ३७ विद्यालयको सहभागिता रहेको थियो भने छात्रातर्फ १५ टिम सहभागी थिए । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा तथा व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । विश्वविद्यालयतर्फ बास्केटबल र व्याडमिन्टनमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले बताए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेको तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

१६ औं हिसान कास्की स्पोर्टस मिटका विजेता खेलाडी तथा विद्यालयहरुलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल, केन्द्रिय उपाध्यक्ष बावुराम पन्त, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, हिसानका केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिशी लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री शिंखडाले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउँदै खेलकुदमा लगानी अपरिहार्य रहेको बताइन । उनले खेलकुद विकासका लागि सबै पक्षको उत्तिकै उत्साहकजनक सहभागिताले मात्रै सम्भव रहेको कुरा औंल्याउँदै यस बारे गम्भिर भएर सोच्न आग्रह समेत गरिन । खेलकुदमा व्यपारिकरणलाई पश्रय दिन नहुने बताउँदै व्यवसायिक खेलाडीको उत्पादन अहिलेको प्रमुख विषय रहेको उनको भनाई थियो ।

१६ औं हिसान कास्की स्पोर्टस मिटलाई समापन गर्दै हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले स्पोर्टस मिट सफल बनाउन सबैले गरेको सहयोग प्रति आभार प्रकट गरे ।

प्रतिभा मावि चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै

प्रतिभा मावि चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै

पोखरा । प्रविधि, सिकाई र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित पोखराको अग्रणी शैक्षिक संस्था प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो ।

केहिदिन अघि मात्र जापानको एभरेस्ट इन्टरनेशनल स्कुलसँग सांस्कृतिक अनुभव, प्रविधि, सिकाई र सफलताका कथा आदानप्रदान गर्ने उद्देश्य सहित सम्झौता गरेको प्रतिभा माविले चिनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको हो । त्यसका लागि चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीलाई बुधबार विद्यालयमा स्वागत गर्दै थप सम्बन्ध बिस्तारको सुरुवात गरेको छ ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविले विगत केहीवर्षदेखि विद्यालयमा चिनियाँ भाषा अध्यापन पनि गराउँदै आएको छ । पछिल्लो समय विश्वमै चिनियाँ भाषाको महत्व पनि बढेको छ । चिनियाँ विश्वविद्यालयसँग भगीनी सम्बन्ध बिस्तार गर्ने उद्देश्य सहित चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गरेको प्राचार्य सापकोटाले बताए ।

‘चिनियाँ विश्वविद्यालयसँग भगीनी सम्बन्ध राख्नका लागि यो भेटघाटले महत्व राख्छ । भगीनी सम्बन्ध बिस्तार गर्न सकेको खण्डमा चीनको शिक्षण सिकाई र प्रविधिलाई हामीले पनि अंगाल्न सक्छौ,’ सापकोटाले भने, ‘चीनले शिक्षा र प्रविधिमा फड्को मारेको छ । त्यहाँको विकासलाई हामीले पनि अंगाल्न पाउने हो भने त्यसले नेपाली शिक्षा प्रणालिमा पनि सुधार ल्याउन सक्छ । चिनियाँ सिकाई र प्रविधि हाम्रा लागि महत्वपूर्ण बन्नेछ ।’

चिनियाँ शिक्षण संस्थाले अवलम्बन गरेको शैलीलाई अपनाउन सके नेपाली शैक्षिक प्रणालिमा अहिले भन्दा व्यापक परिवर्तन ल्याउन सक्ने उनले बताए । ‘जापानको शैक्षिक संस्थासँग एक तहको सम्झौता भईसकेको छ । अब चिनियाँ शिक्षण संस्थासँग पनि सम्बन्ध बिस्तार गर्ने योजनामा छौ । यसले हाम्रो शिक्षण पद्दतीमा सुधार ल्याउने अपेक्षा हो,’ उनले भने ।

चीनको बेइजिङ इन्टरनेशनल चाइनिज कलेजकी डिन कुइ फानले चिनियाँ भाषा र संस्कृतिप्रति लगाव राख्ने नेपाली विद्यार्थीलाई यसअघि नै छात्रवृत्ति दिन थालिसकेकोले आगामि दिनमा प्रतिभा माविसँग यस विषयमा थप सहकार्य गर्न सकिने बताईन् ।

‘प्रतिभाका विद्यार्थीलाई भविष्यमा चिनियाँ विश्वविद्यालयमा अध्ययन गर्नमा सहजीकरण गर्नेगरि सम्बन्ध बिस्तारको सुरुवात भएको छ,’ फानले भनिन, प्रतिभा माविसँग भगिनि सम्बन्ध राखेर सहकार्य गरिनेछ ।’ प्रतिभाका विद्यार्थीका लागि चीनका अन्य शैक्षिक संस्थासँग पनि सहयोग र सम्बन्ध बढाउन आफुले सहयोग गर्ने उनले बताईन् ।

‘प्रतिभाका विद्यार्थी र शिक्षकलाई चीनका विभिन्न शैक्षिक संस्थामार्फत छात्रवृत्ति र तालिम दिलाउन हामीले पर्याप्त पहल गर्नेछौं,’ उनले भनिन, ‘अंग्रेजी र चिनियाँ भाषा जान्ने हो भने जो सुकैले जहाँपनि ठाउँ पाउँछ । त्यसमा प्रतिभाका विद्यार्थी र शिक्षकका लागि अवसरको ढोका खुल्नेछ । हामीले त्यसका लागि सघाउनेछौं ।’

उनका अनुसार काठमाडौंको एलआरआई स्कुलसँगको यस्तै भगिनी सम्बन्ध बिस्तारले अहिलेसम्म एलआरआईमार्फत गएका करिब ३ सय शिक्षक र ५ सय विद्यार्थीले चीनमा छात्रवृत्ति र तालिम पाईसकेको पनि उनले बताईन् ।

एलआरआई स्कुलसँग १२ वर्ष अघि नै यस्तै सम्झौता गरेर सहकार्य गरेको उनले बताईन् । उनले पोखरा सुन्दर सहर भएकोले चिनियाँ पर्यटक पनि आकर्षित हुने गरेको बताईन । चिनियाँहरु पोखरा भनेपछि हुरुक्कै हुने उनले बताईन् ।

विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता सम्बन्धले विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्दै जाने र त्यसले अवसरका थप ढोका खुलाउने बताए । विकसित मुलुकको शिक्षण पद्दती र प्रविधिलाई अंगाल्दै जाने हो भने नेपाली शिक्षण संस्थाले अहिले भन्दा अझै फड्को मार्ने पनि अध्यक्ष पौडेलले बताए ।

प्रतिभालाई जापानमा ‘नेपाल एजुकेशन अवार्ड’, गण्डकी प्रदेशकै उत्कृष्ट प्लस टु

प्रतिभालाई जापानमा ‘नेपाल एजुकेशन अवार्ड’, गण्डकी प्रदेशकै उत्कृष्ट प्लस टु

पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले जापानमा गौरवमय अवार्ड प्राप्त गरेको छ ।

प्रतिभाले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट दश जोड दुई विद्यालय ‘बेस्ट टेन प्लस टु स्कूल अफ द ईअर २०२३’ प्राप्त गरेको हो । प्रसिद्ध संस्था कलेज रिडर्सले एभरेस्ट इन्टरनेशनल स्कूलमा एक समारोहका बीच सोमबार उक्त अवार्ड प्रदान गर्‍यो ।

समारोहका प्रमुख अतिथि प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी विद्यालयका प्रिन्सिपल किरण सापकोटा र विद्यालय सञ्चालकका समितिका तर्फबाट सन्ध्या पौडेललाई अवार्ड हस्तान्तरण गरे ।

प्रमुख निर्णायक लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र कलेज रिडर्सका सिइओ जीतेन्द्र घिमिरेलगायत हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

प्रिन्सिपल सापकोटाले यो गौरवपूर्ण अवार्ड प्राप्त गर्न पाउँदा अत्यन्तै खुशी छु लागेको बताए । ‘यो सफलताको श्रेय सबै शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरुलाई दिन चाहन्छु ।’ – उनले भने ।

प्रतिभाले यो भन्दा अघि पनि सन् २०१८ डिसेम्बरमा यूएईमा टिचिङ एक्सेलेन्स अवार्ड २०१८ प्राप्त गरेको थियो । प्रतिभा माविले राष्ट्रिय स्तरमै उच्च नतिजाका साथ यहाँ अब्बल विद्यालयका रुपमा आफूलाई उभ्याएको छ ।

एसईई नतिजा, कक्षा १२ को नतिजा, विभिन्न विश्वविद्यालयमा प्रवेश परिक्षामा सबैभन्दा उच्च स्कोर ल्याउन सफल भएको छ ।

प्रतिभामा प्रतिभा प्रस्फुटन कार्यक्रम

प्रतिभामा प्रतिभा प्रस्फुटन कार्यक्रम

विद्यार्थीहरुको पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले विजया दशमीको पूर्व सन्ध्यामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न ग¥यो ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पौडेलले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आइरहेको बताए । विद्यार्थीहरुको विभिन्न संस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको पौडेलले बताए ।

विद्यालयका प्रिन्सिपल किरण सापकोटाले विद्यालयका हरेक छोराछोरीहरु प्रकृतिका एउटा अनुपम उपहार भएको बताउँदै उनीहरुले आफ्नो क्षमतालाई चिन्न नसक्दा जिन्दगीका दौड र सपनाहरु प्राप्त गर्ने लक्ष्यहरुमा कहिले काहीँ अल्मलिन पुगेपनि विद्यालयको बगैँचामा रहेका हरेक रङका फूलहरुले बराबर स्याहार सुसार र हेरचाह पाएर फक्रने र फुल्ने मौका पाएकोे बताए ।

कार्यक्रम बालबालिकाहरुमा नै निहित रहेकोले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा गायन र नृत्य विधाअन्र्तगत करिव साठी ओटा विधाहरुमा विभिन्न जातजाति, क्षेत्र, सामाजिक, सांस्कृति पहिचान बोकेका तायाःमचा नृत्यदेखि ललितपुर भक्तपुरको प्रख्यात कुमारी नाच एवम् विविध सांस्कृतिक झल्कने नृत्यहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

गायन विद्यातर्फ मलिना थापा विजेता, एभरग्रिन के.सी. फस्ट रनर अफ, दीक्षा क्षेत्री, एन्जल गौतम र सफल सुबेदी सेकेण्ड रनर अफ भएका छन् ।

नृत्य विधातर्फ (कक्षा ६र ७) आयुष्मा पौडेलको समूह विजेता, आयुश्री तिमिल्सिना र जेविना गुरुङ फस्ट रनर अफ र कृतिका खड्का, देविना लामिछाने, कृष्टिना दाहाल र अनुशा कँणेल सेकेण्ड रनर अफ भएका छन् ।

यसैगरी कक्षा ८, ९ र १०को गायन विधातर्फ सुप्रिया मानन्धरको समूह विजेता, सन्ध्या थापाको समूह फस्ट रनर अफ र पासाङ ल्यामु शेर्पाको समूह सेकेन्ड अफ भएका छन् ।

विद्यालयका वित्त निर्देशक विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रम कक्षा ९ मा अध्यनरत अदिश सुबेदीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रममा नृत्यविधातर्फ राजबहादुर गुरुङ र पवित्रा गुरुङ, गायन विधातर्फ वरिष्ठ संङ्गीतकार नवराज बरालले निर्णायकको भूमिका गरेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी, विद्यार्थीहरू सुशान्त भुषाल, जस्विना मल्ल, लक्षिता राना, दीक्षान्त थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

विजेता हरूलाई कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका प्रिन्सिपल किरण सापकोटा, सहायक प्रिन्सिपलद्वेय प्रदीप खनाल, बुद्धिमोहन पौडेल लगायत अन्य अतिथिहरुले पुरस्कार वितरण गरेका् विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिभा माविमा वार्षिक खेल गतिविधि सुरु

प्रतिभा माविमा वार्षिक खेल गतिविधि सुरु

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा मंगलबारदेखि वार्षिक खेल गतिविधि सुरु भएको छ । तीनदिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनेछन् ।

गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार तीनदिने खेल गतिविधिमा ब्याडमिन्टन, टेवलटेनिस, भलिवल र बास्केटबलका प्रतियोगिता संचालन हुनेछन् । कक्षा ११ र १२ का छात्र तथा छात्राले विभिन्न समूह बनाएर प्रतिश्पर्धा गर्ने सापकोटाले बताए ।

प्राचार्य सापकोटाले विद्यालयले हरेकवर्ष यस्तै कार्यक्रम आयोजना गर्दै आएको बताए । ‘प्रतिभा स्कुल परीक्षा परिणाममा मात्र अब्बल होईन की खेल गतिविधिमा पनि उत्तिकै अब्बल छ,’ सापकोटाले भने । उनका अनुसार प्रतिभा मावि अघिल्लो वर्ष प्याब्सनतर्फ बास्केटबल, भलिबल र एथ्लेटिक्समा च्याम्पियन बनेको थियो । त्यस्तै हिसानको अघिल्लो वर्षको संस्करणमा पनि अब्बल सावित बनेको थियो । ११ र १२ का ३८ वटा सेक्सनका छात्र र छात्राले विभिन्न समूह बनाएर प्रतियोगितामा भाग लिएको सापकोटाले जानकारी दिए ।

‘विद्यार्थीको सर्वाङिगण विकासका लागि विभिन्न खेल गतिविधि गर्दै आएका छौ,’ सापकोटाले भने । उनले परम्परागत रुपमा गृहकार्यको भारिको साटो विद्यार्थीलाई फरक तरिकाले अब्बल बनाउने गरेको बताए । बिज्ञान प्रदर्शनी र बिजनेस प्लान प्रेजेन्टेसन प्रतिश्पर्धा गराउने तयारी भएको पनि उनले जानकारी दिए । त्यसबाहेक प्रतिभा फुड फेस्टिबल पनि गर्ने योजना प्राचार्य सापकोटाले बताए ।

प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्न विद्यालयमा हुने यस्ता गतिविधिले सघाउने बताए । खेलकुद मार्फत आत्मियता पनी बढाउने उनले बताए । ‘पोखरामा यति धेरै स्कुल–कलेज छन की जहाँ शैक्षिक पाटो मात्र नभई खेलकुदलाइ पनि उत्तिकै महत्व दिइन्छ,’ गुरुङले भने । उनका अनुसार पछिल्लो समय युवामा बास्केटबल खेल लोकप्रिय बन्दै गएको छ ।

‘खेलकुद मेडलका लागि मात्र नभई व्यक्तिगत सहभागिता पनि महत्वपूर्ण छ । किनकी यसले मानसिक र शारीरिक क्षमता बढाउँछ । व्यक्तिमा अनुशासन बढाउँछ,’ गुरुङले भने । गण्डकी प्रदेश खेलकुदको सम्भावना रहेको उनले बताए । गण्डकीको भौगोलिक अवस्थाले पनि यो प्रदेश खेलकुदमा अब्बल रहेको उनको भनाई छ ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रतिभाले खेलकुदको क्यालेन्डर नै बनाएर खेल गतिविधि गर्दै आएको बताए । ‘खेलकुद बिना अनुशासन पनि हुदैन । स्वस्थ जीवन बनाउने आधार नै खेलकुद हो,’ पौडेलले भने, ‘खेलकुदबाट अघि बढ्ने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थी भित्र लुकेको खुबी देखाउने एउटा अवसर खेलकुद रहेको उनले बताए । उनले पनि खेललाई निरन्तरता दिने हो भने मान्छे स्वस्थ बन्ने बताए ।