प्रतिभामा ‘म्याथ क्वीज’, ३६ टीम सहभागी

प्रतिभामा ‘म्याथ क्वीज’, ३६ टीम सहभागी

पोखराको प्रतिभा माविमा प्लस टू तर्फ गणित विभागले प्रतिभा म्याथ क्विज २०८० आयोजना गर्‍यो ।

विद्यालयको कक्षा ११ र १२ बाट कूल ३६ टीम सहभागी भएकोमा अन्तिम राउण्डमा ६ टीम पुगेका थिए । यसमध्ये कक्षा १२ ‘एच’का मनोज रिमाल, बब्लू शाह र टेक कुमार श्रेष्ठको टीम सर्वोत्कृष्ट हुन सफल भएको छ ।

यसैगरी, ११ ‘एच’ विज्ञान संकायका भिष्म रेग्मी, समिर सुवेदी र सन्दिप रिजालको टीम दोस्रो हुँदा ११ ‘एच’ कै युनिक पौडेल, विनेश तिमिल्सिना र कृस आलेको टीम तेस्रो भएको छ ।

कार्यक्रमको प्रमुख आतिथि पृथ्वीनारायण क्याम्पसका गणित विभाग प्रमुख सहप्राध्यापक डा. ईश्वरमणि अधिकारी रहेका थिए । नेपाल गणित समाजका सहसचिवसमेत रहेका डा. अधिकारीले प्रतिभाले गणित विषयलाई प्राथमिकता दिई हाजिरी जवाफ प्रतियोगिता गर्नु अत्यन्त खुशीको विषय रहेको उल्लेख गर्दै यसले विद्यार्थीमा गणित विषयप्रति चाख बढ्ने, कठिन विषय भन्ने मनोविज्ञानबाट मुक्त हुने, सरल बनाउन सहयोग पुग्ने बताए ।

गणना र अंकहरुको सेरोफेरोबाट तार्किक विश्लेषण गरी निष्कर्ष प्रदान गर्ने एकमात्र विषय नै गणित हो भन्दै उनले मानव जीवन र भौतिक धरातलसँग प्रत्यक्ष सम्बन्धित कुनै विषय छ भने सबैभन्दा अगाडि गणित विषय रहने बताए ।

‘गणित शिक्षाको मूल जरा हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुँदैन । गणितबाटै विज्ञान अघि बढ्छ । वैज्ञानिकबाट प्रतिपादित प्रविधिले सफलता पाउँछ ।’ उनले भने ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालयका प्राचार्य किरण सापकोटाले नेपालको आधारभूत तथा माध्यमिक तहमा गणितको महत्वलाई बोध गर्दै अनिवार्य विषयको रुपमा समावेश गरिएको बताए ।

मानवीय क्रियाकलापको अन्तर्निहित शक्ति गणितमा नै रहेको भन्दै उनले विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी  रहेको बताए । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिने र कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्ने भएकाले विद्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको सापकोटा बताउँछन् ।

कार्यक्रमको सञ्चालन गणित विभाग प्रमुख प्रेम शर्माले गरेका थिए ।

 

 

 

प्रतिभामा ‘स्पोर्टस् मीट’का उत्कृष्ट पुरस्कृत

प्रतिभामा ‘स्पोर्टस् मीट’का उत्कृष्ट पुरस्कृत

पोखरा, ६ पुस । पोखराको नदिपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले स्पोर्टस् मीट २०८० मा उत्कृष्ट विद्यार्थीलाई शुक्रबार एक समारोहका बीच पुरस्कृत गरेको छ ।

अन्तरसदनात्मक प्रतिष्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई शिल्ड, मेडलले पुरस्कृत गरिएको हो । स्पोर्टस् मीटमा हरियो, रातो, पहेंलो र निलो सदन गरी समूहगत रुपमा विद्यार्थीहरुले विभिन्न खेलहरुमा स्पर्धा गरेका थिए ।

साथै, कक्षागत रुपमा बेस्ट स्टुडेन्ट अफ द मन्थ अवार्ड पनि प्रदान गरिएको थियो । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेल, प्रिन्सिपल किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले पुरस्कार प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पौडेलले गुणस्तरीय शिक्षामा अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएको बताए ।

पौडेलले प्रतिभाले खेलकुदको क्यालेन्डर नै बनाएर खेल गतिविधि गर्दै आएको बताए । ‘खेलकुद बिना अनुशासन पनि हुदैन । स्वस्थ जीवन बनाउने आधार नै खेलकुद हो,’ पौडेलले भने, ‘खेलकुदबाट अघि बढ्ने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थी भित्र लुकेको खुबी देखाउने एउटा अवसर खेलकुद रहेको उनले बताए ।

प्रिन्सिपल किरण सापकोटाले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानमा विद्यालयले जोड दिएको उल्लेख गर्दै मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए । कार्यक्रमको अध्यक्षता समेत गरेका सापकोटाले भने– ‘प्रतिभा स्कुल परीक्षा परिणाममा मात्र अब्बल होईन कि खेल गतिविधिमा पनि उत्तिकै अब्बल छ । विद्यार्थीको सर्वाङिगण विकासका लागि विभिन्न खेल गतिविधि गर्दै आएका छौँ ।’

 

विद्यालयका अतिरिक्ति क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरे ।

 

व्यवसायीका कुरा: ‘पैसाले मात्र व्यवसायमा सफल भइँदैन, सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ’

व्यवसायीका कुरा: ‘पैसाले मात्र व्यवसायमा सफल भइँदैन, सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ’

सफल व्यावसायी बन्न के गर्नुपर्छ? अनुभव, पैसा, क्षमता भए पर्याप्त हुने धेरैको बुझाई छ। तर, पोखराका अग्रणी व्यावसायी आनन्दराज बतास भने पैसा, क्षमता र अनुभवले मात्र व्यावसायमा सफलता नमिल्ने बताउँछन्। व्यावसायमा सफलता हात पार्ने बतासको एउटा सुत्र छ, त्यो हो ‘सकारात्मक सोंच’।

सकारात्मक सोंच राख्यो भने पैसा, क्षमता र अनुभव कम हुँदा पनि व्यावसायमा सफलता हात पार्न सकिने बतास बताउँछन्। पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा व्यवस्थापन र होटल व्यवस्थापन विषय अध्ययनरत ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीमाझ अनुभव सुनाउँदै पोखराको व्यावसायिक समूह बतास समूहका अध्यक्ष बतास भन्छन, ‘सफल व्यावसायी बन्ने हो भने ‘सोंच’ मा सकारात्मकता हुनुपर्छ, त्यसो हुँदा पैसा कम हुँदा पनि पुग्छ।’

विद्यालयले व्यवस्थापन र होटल व्यावस्थापन विषय अध्ययनरत ११ र १२ कक्षाका विद्यार्थीबीच व्यावसायिक योजना प्रस्तुत गर्नेबारे प्रतियोगिता राखेको थियो। त्यही कार्यक्रममा बतासले सफलताको सुत्र बताउँदै भने, ‘सफल व्यावसायी बन्ने हो भने सकारात्मक सोेचौं, अरु पनि सहयोग त चाहिन्छ, तर, सोचाइ सकारात्मक भयो भने छिटो सफल भईन्छ।’ बतासका बुझाईमा पुर्ख्यौली सम्पत्तिका भरमा मान्छे धनी हुँदैनन, व्यावसायमा सकारात्मकता देखायो भने त्यसले धन तान्ने उनको बुझाई छ।

‘विश्वका धनाढ्य मान्छेहरु पुर्ख्यौली सम्पत्तिका भरमा मात्र धनी भएका होईनन। सफल व्यावसायी हुन पैसा पनि नभई त हुँदैन, तर, त्यो भन्दा महत्वपूर्ण कुरा सकारात्मक सोंच राख्नुपर्छ,’ उनले भने, ‘आफु सफल हुनका लागि अरुलाई असफल बनाउने प्रयास गर्न जरुरी छैन।’ सोंच खराब भए एक पटकका लागि धनी बन्न सकेपनि सफलताले निरन्तरता नपाउन पनि सक्ने उनले बताए।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा व्यावसायिकताको ज्ञान दिलाउने उद्देश्यले विद्यालयले व्यवासायिक योजना प्रस्तुत गर्ने बारे प्रतियोगिता आयोजना गरेको थियो। विद्यालयले अघिल्लो वर्ष पनि यस्तै प्रतियोगिता आयोजना गरेको थियो। विद्यार्थीलाई व्यावसायिक योजना तयार गर्न लगाएर भविश्यमा त्यही खालको व्यावसायमा फर्काउन सकिने प्रयासस्वरुप प्रतियोगिता आयोजना गरेको उनले बताए। उनका अनुसार प्रतियोगितामा व्यवासायिक अनुभव बटुलेका व्यक्तिले अनुभव साट्दा विद्यार्थीले पछ्याउन सक्नेछन्।

‘नयाँ व्यावसाय थाल्दाको कठिनता र दीर्घकालसम्मको टिकाउबारे व्यावसायीले अनुभव साट्दा विद्यार्थीलाई भविश्यमा सहजीकरण हुनसक्छ,’ उनले भने, ‘फरकफरक व्यावसायिक योजनाबारे अनुभव सुन्न पाउँदा विद्यार्थीमा थप ज्ञान पनि बढ्छ। फरक विषयबारे सोच्ने क्षमता पनि विद्यार्थीमा पलाउँछ।’

सापकोटाका अनुसार योपटक व्यक्तिगत र समुहगत गरि २८ वटा समुहले प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यक्ति वा समूहले १५, १० र साढे ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यसबाहेक उत्कृष्ट व्यावसायिक योजनालाई निरन्तरता दिन चाहेमा विद्यालयले पाँचलाख रुपैयाँ बिउँपूँजी पनि प्रदान गर्ने सापकोटाले बताए। कफी, डेरी, कृषि, पदयात्रा, पशुपालन, मौरी, कफीसप जस्ता विभिन्न व्यावसायबारे विद्यार्थीले व्यावसायिक योजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उपप्राध्याक डा देवीलाल शर्माले कुनै पनि व्यावसायीले व्यावसायमा हाम फाल्नु अघि धेरै पक्ष सोच्नुपर्ने बताए। उनका अनुसार व्यावसायिक सफलता हात पार्नका लागि उत्पादन, सम्भाव्यता अध्ययन सहित कानुनी प्रावधान बुझ्नुपर्ने हुन्छ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले युवा विद्यार्थीमा व्यावसायिक मनस्थिति बनाउनका लागि विद्यार्थीमाझ यस्तो प्रतियोगिता आवश्यक रहेको बताए। ‘१२ कक्षा पढेपछि विद्यार्थी विदेश जाने गरेका छन्। देशमै बसेर केही गर्नुपर्छ भन्ने छाप बसाउनका लागि यस्ता कार्यक्रम गरेका हौं,’ पौडेलले भने, ‘युवाअवस्थामै व्यावसायिक सोँच बनाउन सकियो भने उनीहरुलाई स्वदेशमै रोक्न सकिने हाम्रो पहल मात्र हो।’

युवापुस्तामा व्यावसायिक सोंचको सुरुवात गराउन सकियो भने उनीहरुलाई व्यावसायमा सफलता दिलाउन सकिने उनले बताए। ‘सरकारले मात्र गरेन भनेर पनि हुँदैन, आफैले अवसर सिर्जना पनि गर्ने हो। अहिलेसम्म विदेश जानेलाई रोक्न त सकिएन,’ पौडेलले भने, ‘तर व्यावसाय थाल्दा केही अवसर सिर्जना भने गर्न सक्यौं भने त्यसले भविश्यमा विदेश पलायन कम हुने अपेक्षा हो।’

माविस्तरिय प्याब्सन स्पोर्टस मिटमा बास्केटबलतर्फ प्रतिभालाई दोहोरो उपाधि

माविस्तरिय प्याब्सन स्पोर्टस मिटमा बास्केटबलतर्फ प्रतिभालाई दोहोरो उपाधि

पोखरा स्पोर्टस । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट २०८०’ अन्तर्गत प्रतिभा माविले दोहोरो उपाधि जितेको छ । पोखरा रंगशालामा तिन देखि जारी प्रतियोगिता अन्तर्गत छात्र/छात्रा बास्केटबलमा प्रतिभाले दुबै तर्फ जित हासिल गरेको हो । सम्पन्न छात्रतर्फको फाइनलमा माउन्ट अन्नपूर्ण माविलाई ६५–५९ को स्कोरले पराजित गरि उपाधि जित्दा छात्रातर्फ ग्लोबल कलेजियटलाई ४०–१८ को स्कोरले पराजित गरि दोहोरो उपाधि जितेको हो । त्यसै गरि छात्र–छात्रा भलिबल तर्फ गुरुकुलले दोहोरो उपाधि हात पारेको छ ।

त्यस्तै छात्र बास्केटबलमा मनकामनाले मेरिगोल्डलाई ५०–४० को स्कोरले जित्दै तेश्रो स्थान प्राप्त गरेको छ भने माउन्ट अन्नपूर्ण माविलाई २२–६ को स्कोरले पराजित मेरीगोल्ड तेश्रो स्थान हासिल गरेको छ । छात्र बास्केटबलमा प्रतिभाका केशव पुन उत्कृष्ट खेलाडी तथा माउन्ट अन्नपूर्णका अनिल पुन हाइस्कोरर घोषित भए भने छात्रातर्फ प्रतिभाकी स्वेच्छा थापा उत्कृट खेलाडी एवं हाइस्कोरर सोही विद्यालयकी मन्दिता गुरुङ भएकी छन् ।

यसै गरि बुधबार सम्पन्न छात्र भलिबलतर्फ गुरुकुल माविले उपाधि जितेको छ । फाइनल खेलमा गुरुकुल माविले स्पाइरललाई २३–२५, २५–१७, २५–२० ले पराजित गरेको थियो । छात्रतर्फ तेश्रो स्थानको लागि भएको खेलमा करुणानिधी मावीले पश्चिमाञ्चललाई २५–१३, २३–२५, २५–१५ ले पराजित गरेको छ । यसै गरि छात्रातर्फ गुरुकुलले प्रतिभालाई २५–१८, २५–१० को सोझो सेटमा पराजित गरि उपाधि जित्दा केफ मावीले स्टेप वाई स्टेपलाई २५–११, २५–८ ले जित्दै तेश्रो स्थान प्राप्त गर्न सफल भयो ।

छात्रा भलिवलमा गुरुकुलकी सुष्मिता श्रीपाली उत्कृष्ट खेलाडी तथा प्रतिभाकी अञ्जली किशान उत्कृष्ट स्पाइकर बन्न सफल भइन् । त्यस्तै छात्रतर्फ गुरुकुलका सुदिप सुनार उत्कृष्ट खेलाडी एवं स्पाइरल ग्यालेक्सीका हिमाल मगर उत्कृष्ट स्पाइकर घोषित भए ।

त्यस्तै टेबुल टेनिसतर्फ समग्रमा सगरमाथा मावि प्रथम भएको छ भने समान अंक प्राप्त गरि स्टेपवाई स्टेप वाई स्टेप र ग्लोबल दोश्रो भएका छन् । टेबुल टेनिस खेलतर्फ सम्पन्न छात्र सिंगल्स फाइनलमा स्टेप वाई स्टेपका सुलभ केसी पहिलो हुँदा, सबलाइमका अमन पौडेल दोश्रो, बालप्रभातका सदिश अर्याल र ग्लोबलका प्रज्वल थापा तेश्रो भएका छन् । छात्रा सिंगल्स फाइनलमा सगरमाथाकी सेजल बानियाँ पहिलो, टप्सकी सम्पदा अर्याल दोश्रो, केफकी समृद्धि अधिकारी र ग्लोबलकी रोजिना गुरुङ तेश्रो भएका छन् ।

त्यस्तै टेबुल टेनिस डबल्स छात्रतर्फ स्टेप वाई स्टेपका सुलभ केसी र प्रवेश पौडेलको जोडी पहिलो हुँदा टप्सका मुकेश थापा र धनेश घलेको जोडी दोश्रो तथा सगरमाथाका इशान बराल र सुक्रितिया सिग्देलको जोडी एवं रेन्वोका इशान थापा मगर र शिवशक्ति गुरुङले तेश्रो स्थान हात पारेका छन् । त्यस्तै छात्रातर्फ केफका सभ्यता अधिकारी र समृद्धि अधिकारीको जोडि पहिलो, सगरमाथाकी सेजल बानियाँ र राधिका जैशी दोश्रो, ग्लोबलकी रोजिना गुरुङ र सृष्टि गुरुङ तथा टप्सकी सम्पदा गुरुङ र सम्झना नेपालीले तेश्रो स्थान हात पारे ।

प्रतियोगिता यहि पौष २५ गतेबाट सुरु भएको स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिसका खेलहरुलाई प्राथमिकताका आधारमा सञ्चालन गरिएको स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए । स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र–छात्रा डबल्समा १४–१४ टिमको सहभागिता रहेको थियो ।

विजेता टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले शिक्षा र खेलकुदलाई संग–संगै लैजान सके राष्ट्रको गौरव बढाउने गरि खेलाडी उत्पादन हुन सक्ने बताइन् । उनले यूवाहरुलाई अध्ययन संगै खेललाई अघि बढाउन आग्रह गर्दै राष्ट्र प्रतिको जिम्मेवारी बोध हुने गरि आफूलाई स्थापित गर्नुपर्ने उनको भनाई थियो ।

यसै गरि विजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्याब्सनका केन्द्रिय उपाध्यक्ष विर बहादुर बुढाथोकी, प्याब्सन कास्कीका निवर्तमान अध्यक्ष प्रेम प्रसाद शर्मा, वरिष्ठ सल्लाहकार दिनेश श्रेष्ठ, प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेलगायतले समेत ट्रफी र मेडल वितरण गरेका थिए ।

प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्याब्सन कास्कीका सचिव पूष्पराज पराजुली समेत आफ्ना भनाई राखेका थिए ।

प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन

प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन

पोखरा । हरेक गतिविधिमा अग्रणी बनिरहेको पोखरा नदिपुर स्थित प्रतिभा माविले शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रतियोगितात्मक प्रदर्शनीमा १ सय ७२ टोली प्रतिष्पर्धामा सहभागी भए ।

विद्यालयका प्रिन्सिपल किरण सापकोटा थप्छन् – ‘हामीले यस वर्ष पनि विज्ञान संकायका विद्यार्थीका लागि पहिलो दिन विज्ञान प्रदर्शनी र व्यवस्थापन संकायका विद्यार्थीका लागि आगामी शुक्रबार बिजनेश प्लान प्रस्तुतिका कार्यक्रम प्रतियोगितात्मक हिसाबमै राखेका छौँ । उत्कृष्ट हुनेहरुलाई सिड मनी ५ लाखसहित आकर्षक पुरस्कारको पनि व्यवस्था गरेका छौँ ।’

प्रतिभाले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन राखेको प्रदर्शनीमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका हुन् । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । उनीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामाग्री निर्माण गरेका छन् ।

विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । प्रदर्शनीमा विज्ञानका कुरा मात्र छैनन् । घरयासी प्रविधिदेखि स्मार्ट सिटीका योजना छन् ।

उत्कृष्टमध्ये कक्षागत वर्गिकरण गरी पुरस्कृत गरिने भएको छ । कक्षा ४ र ५ का विद्यार्थीबीचको आविस्कारमा उत्कृष्ट हुनेले ३ हजार, २ हजार र १ हजार क्रमशः पाउनेछन् ।

कक्षा ६, ७ र ८ का विद्यार्थीबीचको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार पाउनेछन् ।

कक्षा ९ र १० बीचमध्ये उत्कृष्ट हुनेले ७ हजार ५ सय ५ हजार र ३ हजार पाउनेछ भने ११ र १२ कक्षामध्ये उत्कृष्ट हुनेले २० हजार, १५ हजार र ७ हजार ५ सय तथा सबै उत्कृष्टले मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रदर्शनीको शिक्षा विकास तथा समन्वय एकाई, कास्कीका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव प्राचार्य किरण सापकोटाले प्रतिभामा उपयोग गरी मुलुककै गर्वलायक शैक्षिक संस्था बनाएकोमा उनले खुशी व्यक्त गरे । विद्यार्थी सुसंस्कायुक्त, इमान्दार बन्नुपर्ने भन्दै उनले यही पुस्ताले अब मुलुक समृद्ध बनाउने पनि बताए ।

कार्यक्रममा विद्यालयका निर्देशक बलबहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सिनियर फिजिक्स टिचर मदन लामिछानेले गरेका थिए ।